१७ वर्षपछि सम्पन्न रतुवा खोलाको पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं । असार २९, प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा निर्माण भएको १७ वर्षपछि पुल उद्घाटन गरेका छन् ।
शनिबारदेखि गृह जिल्ला झापामा रहेका ओलीले आइतबार दिउँसो पुलको उद्घाटन गरेका हुन् । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने यो पुल निर्माण सम्पन्न हुन १७ वर्ष लाग्यो ।
दुई वटा ठेकेदार पनि फेरिए । पुलले छुने झापाको गौरीगञ्ज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीमार्फत यो पुल निर्माण भएको हो । वि.स.२०६४–६५ मा निर्माण सुरु भएको सो पुल अधुरै थियो । दोस्रो पटक निर्माणका लागि २०७९ सालमा ठेक्का लागेको थियो ।
पुल नहुँदा स्थानीयबासी बर्खामा डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा बासको पुलबाट खोला वारपार गर्दा १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ तिर्नपर्थ्यो । पुल निर्माण भएपछि आवतजावत सहज भएको छ ।
मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख ठेक्का पाएको थियो । त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । बाँकी क्षेत्रमा निर्माण भएन । जसका कारण पुल अधुरै थियो ।
हुलाकी राजमार्ग कार्यालयले ७७.७ मिटर थप पुलको संरचना निर्माणाका लागि देव एन्ड सायररसमतारआशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण सम्पन्न भएपछि पुलको लम्बाई २८२. ५ मिटर भएको छ । पुलको सुरक्षाका लागि झापा र मोरङतर्फ तटबन्ध पनि निर्माण भएको छ ।