चार प्रदेशमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । असार ३०, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर साधरणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : 14 July, 2025

प्रतिक्रिया दिनुहोस्