साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

सहयात्रा टिभी

काठमाडौं । असार ३१, बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा कमजोर मानिएको श्रीलंकासँग खेल्दै छ । उपाधि दौडमा आफूलाई बलियो बनाइराख्न नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ।

ढाकास्थित बसुन्धरा किङ्स एरेनामा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ।

यसअघिका खेलहरूमा नेपालले मिश्रित नतिजा निकालेको थियो। पहिलो खेलमा भुटानलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-२ गोलले स्तब्ध भएको थियो।

अर्कोतर्फ, श्रीलंका प्रतियोगितामा सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९-१ र दोस्रो खेलमा भुटानसँग ५-० को भारी हार बेहोरेको थियो।

प्रतियोगितामा बंगलादेश २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल र भुटानको समान ३-३ अंक भए पनि गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ। बंगलादेशसँगको हारले नेपाललाई उपाधि यात्रामा धक्का लागेको छ। अब उपाधि जित्नका लागि नेपालले बाँकी सबै खेलमा फराकिलो जित निकाल्दै गोलअन्तरमा आफूलाई बलियो बनाउनु पर्नेछ।

चार टोली सहभागी यो च्याम्पियनसिप डबल राउण्ड रोबिन प्रणालीमा खेलाइएको हो, जसअनुसार सबै टोलीले एकअर्कासँग दुई-दुई पटक खेल्नेछन्। अन्तिममा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन घोषित हुनेछ।

प्रकाशित : 15 July, 2025

प्रतिक्रिया दिनुहोस्