मधेश प्रदेश सरकारले वारुणयन्त्रमार्फत पानी बाँड्दै

सहयात्रा टिभी

काठमाडौं । असार ३२, वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो ।

प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाएको छ । वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने र त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने छन् भने सञ्चालन नेपाली सेनाले गर्नेछ ।

यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर मार्फत पनि प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् । यस्तै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ।

‘सुक्खा र खानेपानी संकटका कारण पिडित नागरिकसँग प्रदेश सरकार साथमा छ । संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौं,’ मुख्यमन्त्री सिंहले भने ।

खानेपानी संकटले प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले प्रदेश सरकारले सबै संयन्त्र र स्रोत परिचालन गरेको जनाएको छ ।

 

प्रकाशित : 16 July, 2025

प्रतिक्रिया दिनुहोस्