रुपन्देहीमा एउटै घरमा भेटिए २३ वटा गोमन सर्प

सहयात्रा टिभी

काठमाडौं । असार ३२, रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ ।

तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन सर्प भेटिएका हुन् ।

सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो ।

तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएका थिए ।

भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन ५ वटा र दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए ।

उक्त घटना लगत्तै बुटवल ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए । दुबै ठाउँमा भेटिएका सर्पलाई तिलोत्तमा १ का विशाल पाण्डे र उनको टिमले घरबाट निकालेर जंगलमा लगेर छाडेका छन् ।

तिलोत्तमा पछि देवदह नगरपालिका ८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए । त्यहाँ पनि विशाल पाण्डे र उनको टिमले सर्पलाई समाएर जंगलमा पुर्‍याएर छाडे ।

गोमन, करेतजस्ता विषालु सर्पले डसेमा तत्काल उपचार गर्नुपर्छ । विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा सर्पदंशको जोखिम उच्च रहेको देखाए पनि बर्सेनि सर्पको डसाइबाट हुने प्रभावित र मृत्युको यकिन तथ्यांक भने उपलब्ध छैन ।

प्रकाशित : 16 July, 2025

प्रतिक्रिया दिनुहोस्