इजरायलले गरो सिरियाको रक्षा मन्त्रालयमा आक्रमण

काठमाडौं । साउन १, इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण गरेको छ ।
बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो ।
यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले सीरियामा ड्रुज समुदायलाई जोगाउन र सशस्त्र गिरोहलाई अन्त्य गर्ने उद्देश्यले आक्रमण गरेको जिकिर गरेका छन् ।
सिरियाको ड्रुज र आदिवासी बद्दु समूहबीच साम्प्रदायिक हिंसा भड्किएको छ । उनीहरुबिचको संघर्षमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । यही संघर्षको बीचमा इजरायलले ड्रुजलाई जोगाउन भन्दै आक्रमण गरेको हो ।
इजरायली सेनाका लेफ्टिनेन्ट जनरल एयाल जामिरले आक्रमणपछि भनेका छन्, ‘हामी सिमापार शत्रुहरूको स्थायी उपस्थिति रोक्न, इजरायली नागरिकहरूको रक्षा गर्न र ड्रूज नागरिकहरूलाई क्षति हुन नदिन निर्णायक रूपमा कदम चालिरहेका छौं ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियामा भइरहेको हिंसाबाट चिन्तित रहेको र यो छिटै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले शान्ति कायम गर्नका लाग केही कदम उठाएको एक्समा लेखेका छन् ।
सिरियाले हालको संकट शान्तिपूर्ण ढंगले समाधान गर्ने अमेरिकाको प्रयासको स्वागत गरेको जनाएको छ ।