बाढी–पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, ६ ठाउँमा पूर्ण अवरुद्ध

काठमाडौं । साउन ५, लगातारको वर्षासँगै आएको बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, ६ वटा मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने अन्य पाँच स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार, कोशी प्रदेशका तीन महत्त्वपूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। संखुवासभाको भोटखोला–४ बरुणमा कोशी राजमार्ग, पाँचथरको हेवाखोलामा बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग र पाँचथरकै तुम्वेवा–२ मा तमोर कोरिडोर बन्द भएको हो। त्यसैगरी, नवलपरासी पूर्वको गैंडाकोट–३ स्थित तरङखोलामा बाढीले कालीगण्डकी कोरिडोर, रोल्पाको थबाङमा पहिरोले शहीद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट–६ रिजिगारमा बाढीले भेरी कोरिडोर अवरुद्ध बनाएको छ।
यस्तै, राजधानी काठमाडौंलाई नुवाकोटसँग जोड्ने सडकखण्ड पनि वर्षाका कारण प्रभावित बनेको छ। टोखा–२ मा सडकमा क्षति पुग्दा यातायात एकतर्फी सञ्चालनमा छ। बागलुङमा पनि पहिरोका कारण दुई सडकखण्डमा आंशिक रूपमा मात्रै गाडी चलिरहेका छन्। गलकोट–११ काउसेमा मध्यपहाडी लोकमार्ग र बागलुङ नगरपालिका–१० दब्ल्याङमा कालिगण्डकी कोरिडोर एकतर्फी भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र भुर्तिबाङमा पहिरोले शहीद राजमार्गमा पनि सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।