साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै, उपाधि विजेताको टुंगो लाग्ने

काठमाडौं । साउन ५, २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) नेपालले आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नै प्रतियोगिताको विजेता टुङ्गो लगाउने निर्णायक खेल हुनेछ। बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा हुने यो महत्त्वपूर्ण भिडन्त नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ।
च्याम्पियन बन्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। यदि नेपालले घरेलु टोलीलाई हराउन सकेमा गोल अन्तरको आधारमा उपाधि आफ्नो पोल्टामा पार्नेछ। अर्कोतर्फ, अपराजित रहेको बङ्गलादेशलाई भने उपाधि जित्नका लागि केवल बराबरी नै पर्याप्त हुनेछ।
यस प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि भएको लिग चरणको भेटमा नेपाल बङ्गलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। यद्यपि, नेपालले भुटान र श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। अहिलेसम्मका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहँदै उपाधि दाबेदारी प्रस्तुत गरिरहेको छ।
यसअघि, आजै दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्काबीच पनि प्रतिस्पर्धा हुनेछ। भुटान ३ अङ्कसहित तेस्रो स्थानमा छ भने श्रीलङ्काले अङ्क जोड्न सकेको छैन।