केपी ओलीलाई भीम रावलको व्यङ्ग्य: ‘सुतेको र बिरामी भएको समय पनि घटाऔं’

काठमाडौं । साउन ५, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर हदबारे दिएको तर्कमाथि नेता भीम रावलले कडा व्यङ्ग्य गरेका छन्। अध्यक्ष ओलीले उमेर हद कायम राख्ने हो भने आफूले जेलमा बिताएको समयलाई आफ्नो उमेरबाट घटाउनुपर्ने जिकिर गरेपछि रावलले सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्तिको आलोचना गरेका हुन्।
रावलले ओलीको पद र सत्ताप्रतिको अतृप्त भोक शान्त पार्न भन्दै व्यङ्ग्यात्मक शैलीमा राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी परेको समय पनि घटाउन सुझाव दिएका छन्। उनले यसका लागि पार्टीमा एउटा कार्यदल नै गठन गर्ने कि भनी प्रश्नसमेत गरेका छन्।
ओलीसँगको राजनीतिक विवादकै कारण एमाले छाडेका रावलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’
ओलीले पार्टी बैठकमा ७० वर्षे उमेर हदको प्रावधानलाई आफू अनुकूल व्याख्या गर्न खोजेपछि राजनीतिक वृत्तमा यसको आलोचना भइरहेको छ।