एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

सहयात्रा टिभी

काठमाडौं । साउन ६, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहनेछ ।


पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार हिजो गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संशोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

पार्टी सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरूलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिए ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामयिक राजनीतिक विषयवस्तु र सकारको एक वर्षे कार्यकालको उपलब्धि बारे बैठकलाई जानकारी गराएका थिए ।

यसै गरी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित भएको विधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका थिए । बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन् ।

प्रकाशित : 22 July, 2025

प्रतिक्रिया दिनुहोस्