जापानसँग ऐतिहासिक व्यापार सम्झौता भएको ट्रम्पको दाबी, ५५० अर्ब डलर लगानीको घोषणा

सहयात्रा टिभी

काठमाडौं । साउन ७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग अमेरिकी इतिहासकै सबैभन्दा ठूलो व्यापारिक सम्झौता सम्पन्न भएको घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उनले यो बहुप्रतीक्षित सम्झौताले अमेरिकी अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने दाबी गरे ।

ट्रम्पका अनुसार, सम्झौता अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्नेछ, जसबाट अमेरिकाले ९० प्रतिशत नाफा आर्जन गर्नेछ । यद्यपि, यो लगानीको स्वरूप र नाफा गणनाको प्रक्रियाबारे उनले स्पष्ट पारेका छैनन् । उनले लेखेका छन्, “यो सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ । जापानले आफ्नो बजार अमेरिकी कार, ट्रक, चामल र अन्य कृषि उत्पादनका लागि खोल्नेछ र अमेरिकी वस्तुमा १५ प्रतिशतको पारस्परिक महसुल तिर्नेछ ।”

यसैबीच, जापानका प्रधानमन्त्री शिगेरु इसिबाले सम्झौता भएको स्वीकार गर्दै सरकारले यसका विवरणहरूमाथि गम्भीरतापूर्वक अध्ययन गर्ने बताएका छन् । उनले आवश्यक परेमा ट्रम्पसँग प्रत्यक्ष वा टेलिफोन वार्ताका लागि तयार रहेको संकेत दिए । यद्यपि, ट्रम्पले जस्तै उनले पनि सम्झौताका विस्तृत बुँदाहरू भने सार्वजनिक गरेका छैनन् ।

दुवै पक्षबाट सम्झौताको घोषणा भए पनि हालसम्म कुनै औपचारिक लिखत सार्वजनिक गरिएको छैन । केही साताअघिसम्म असम्भवप्रायः मानिएको यो सम्झौता लामो वार्तापछि टुङ्गिएको बताइएको छ ।

प्रकाशित : 23 July, 2025

प्रतिक्रिया दिनुहोस्