३१ जिल्लामा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । साउन ७, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका ३१ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । यी जिल्लाका साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले ‘पहेँलो सतर्कता’ जारी गरी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
महाशाखाका अनुसार विशेषगरी ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु र दोलखा आसपासका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने हुँदा आकस्मिक बाढीको मध्यम जोखिम तुलनात्मक रूपमा उच्च रहेको छ ।
यसैगरी, इलाम, झापा, पाँचथर, धनकुटा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, जाजरकोट र दैलेख भएर बहने साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ ।
यद्यपि, आज बिहानको मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी तथा पश्चिम राप्ती, बबई र कन्काई जस्ता ठूला नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै तर बढ्दो क्रममा रहेको महाशाखाले स्पष्ट पारेको छ ।