सौगात र बेनिशा अभिनित ‘सिटामोल’को ट्रेलर सार्वजनिक

काठमाडौं । साउन ८, आगामी साउन २३ गते जनैपूर्णिमामा दर्शकमाझ आउन लागेको प्रतिक्षित फिल्म ‘सिटामोल’ले आफ्नो ट्रेलरमार्फत दमदार उपस्थिति जनाएको छ। ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरले हल्का कमेडीको लेपमा सामाजिक यथार्थको तीतो सत्य र सटिक संवादको शक्तिशाली मिश्रण प्रस्तुत गरेको छ, जसले दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाएको छ।
ट्रेलरले नेपाली परिवारभित्रको किचलो, गरिबीले निम्त्याएको सङ्घर्ष, बेरोजगारीको पीडा र सरकारी तन्त्रको उदासीनतालाई व्यङ्ग्यात्मक तर मार्मिक शैलीमा पर्दामा उतारेको छ। अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको जीवन्त अभिनय र उनीहरुबीचको संवादले ट्रेलरलाई आकर्षक बनाएको छ।
राज बहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममार्फत श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। प्रदीप भारद्वाज र निर्देशक साने स्वयंको कथामा आधारित यो फिल्मलाई सिमोस सुनुवारले प्रस्तुत गरेका हुन्। तुल्सी देवी फिल्म्स र जुनतारा फिल्म्सको ब्यानरमा निर्मित फिल्मको प्राविधिक पक्ष पनि उत्तिकै बलियो देखिन्छ।
दिव्य सुवेदीको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र बाबुल गिरीको संगीतले फिल्मलाई एउटा पूर्ण मनोरञ्जनात्मक प्याकेज बनाउने सङ्केत ट्रेलरले दिएको छ।