चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमै २८ गैँडासहित ८३ वन्यजन्तु मरे

सहयात्रा टिभी

काठमाडौं । साउन ८, नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु गुमाएको छ । यस अवधिमा सबैभन्दा बढी २८ वटा एकसिंगे गैँडा मरेको हो, जसले वन्यजन्तु संरक्षणमा गम्भीर चुनौती थपिएको संकेत गर्दछ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कुल मृत्युमध्ये ४५ वटा वन्यजन्तु प्राकृतिक कारणले मरेका थिए भने बाँकी मानवीय गतिविधि, दुर्घटना र अन्य कारणले मरेका हुन् । मरेका २८ गैँडामध्ये १८ वटा प्राकृतिक कारणले, ३ वटा जुधेर, २ वटा बाढीपहिरोमा परेर, ३ वटा दलदलमा फसेर र एउटा विद्युतीय करेन्ट लागेर मरेका थिए । एउटा गैँडाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

यसैगरी, निकुञ्जले गत वर्ष २ वटा बाघ, ७ वटा हात्ती र ३१ वटा चित्तल पनि गुमाएको छ । कुकुरको टोकाइबाट मात्रै १६ वटा चित्तल मरेका छन् भने सडक दुर्घटनामा २ चित्तलले ज्यान गुमाएका छन् । यसबाहेक जरायो, रतुवा, घडीयाल गोही, भालु जस्ता अन्य जनावर पनि मरेको तथ्यांकमा उल्लेख छ ।

यद्यपि, यसै अवधिमा निकुञ्जले १३५ वटा वन्यजन्तुको सफल उद्धार पनि गरेको छ । उद्धार गरिएकाहरुमा ४ गैँडा, २ बाघ, ६१ अजिङ्गर, ३७ सर्प र ११ मगर गोही लगायतका जनावर रहेका छन्, जसले संरक्षण प्रयासलाई केही राहत दिएको छ ।

प्रकाशित : 24 July, 2025

प्रतिक्रिया दिनुहोस्