प्रतिनिधिसभामा आज ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक’ प्रस्तुत हुँदै

काठमाडौं । साउन ९, प्रतिनिधिसभाको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ प्रस्तुत हुने भएको छ ।
संघीय संसद् भवन नयाँ वानेश्वरमा आज दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकलाई माथिल्लो सदनले पारित गरिसकेको छ । यो विधेयक गत असार ४ गते राष्ट्रियसभामा दर्ता भई २०८० चैत ४ गते पारित भएको थियो ।
विधेयकको मुख्य उद्देश्य आँखा स्वास्थ्यको क्षेत्रमा अध्ययन, अध्यापन, अनुसन्धान तथा विशेषज्ञ सेवा प्रदान गर्ने एक उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा तिलगंगा नेत्र विश्वविद्यालय स्थापना र सञ्चालन गर्नु हो । यसले आँखा स्वास्थ्यसम्बन्धी नवीनतम् प्रविधिको विकास र विस्तारमा समेत जोड दिएको छ ।