दिल्ली हुँदै कुवेत जान लागेका ४७ महिलाको उद्धार, गृहमन्त्रीद्वारा छानबिनको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । साउन ९, भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनालगत्तै गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई विस्तृत छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ।

दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहितको टोलीले आवश्यक अनुमतिपत्र (एनओसी) बिना कुवेत उड्न लागेका महिलाहरूलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देहीको सुनौली नाका ल्याएर जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

प्रजिअ घिमिरेका अनुसार, उद्धार गरिएका सबै महिलालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदैछ। गृह मन्त्रालयले गृहमन्त्री लेखकले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने गिरोहबारे गहन अनुसन्धान गर्न निर्देशन दिएको जनाएको छ।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्