रेशमले रञ्जितालाई भने- तपाईं भाग्न पाउनुहुन्न, आरोपबारे बैठकमा जवाफ दिनुपर्छ

सहयात्रा टिभी

काठमाडौं । साउन ९, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीलाई केन्द्रीय समितिको बैठकमा उपस्थित भई आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन आग्रह गरेका छन्। कास्कीको जग्गा विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेकी आफ्नी पत्नीसमेत रहेकी रञ्जितालाई रेशमले भिडियो सन्देशमार्फत यस्तो आग्रह गरेका हुन्।

रेशमले अध्यक्ष रञ्जिताले बैठकलाई ‘अवैधानिक’ भनेर पन्छिन नमिल्ने बताएका छन्। “तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ,” भिडियो सन्देशमा रेशमले भनेका छन्।

उनका अनुसार, अध्यक्षले ‘मैले बोलाएको बैठक होइन’ भन्नुको सट्टा, बैठक किन र के कारणले बोलाइयो भनेर सोधखोज गर्नुपर्ने हो। रेशमले पार्टी अध्यक्ष भइसकेपछि हरेक सदस्यलाई परिवारको रूपमा हेर्नुपर्ने र प्रतिशोधको भावना राख्न नहुनेमा जोड दिए।

रेशमले पार्टीमा हाल उत्पन्न परिस्थितिको मुख्य जिम्मेवार रञ्जिता नै भएको आरोप लगाउँदै भने, “अहिले उत्पन्न परिस्थिति तपाईंको कारणले सिर्जना भएको हो। जनता अन्योलमा छन्। हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो, खै त जवाफ?”

उनले पार्टीलाई बन्धक नबनाई निकास दिन पनि रञ्जितालाई सुझाएका छन्। केन्द्रीय समितिमा आएर आफ्ना कुरा राखेमा मात्र पार्टीले स्पष्ट दिशा लिने बताउँदै रेशमले भने, “निराकरणको बाटो दिनुपर्छ। निकास दिनुपर्छ। पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन।”

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्