प्यालेस्टाइनलाई राज्यको मान्यता दिने फ्रान्सको घोषणा, अमेरिका र इजरायल रुष्ट

सहयात्रा टिभी

काठमाडौं । साउन ९, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आउँदो सेप्टेम्बरमा आफ्नो देशले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिने घोषणा गरेका छन्। यो निर्णयसँगै फ्रान्स प्यालेस्टाइनलाई मान्यता दिने पहिलो जी-सेभेन राष्ट्र बन्नेछ।

सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत म्याक्रोँले न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा यो घोषणा गरिने जानकारी दिएका छन्। उनले गाजा युद्धको अन्त्य, नागरिकको सुरक्षा, तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका लागि मानवीय सहायताको तत्काल आवश्यकतामा जोड दिएका छन्। “शान्ति सम्भव छ,” उनले लेखेका छन्।

म्याक्रोँले मध्यपूर्वमा न्यायपूर्ण र स्थायी शान्तिका लागि आफ्नो ऐतिहासिक प्रतिबद्धता अनुसार यो निर्णय लिएको बताए। उनले हमासको निशस्त्रीकरण र प्यालेस्टाइन राज्यको निर्माणले इजरायलसहित सम्पूर्ण मध्यपूर्वको सुरक्षामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

फ्रान्सको यस कदमको प्यालेस्टिनी अधिकारीहरूले स्वागत गरेका छन्। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने यो निर्णयले ‘आतंकवादलाई पुरस्कृत गर्ने’ टिप्पणी गरेका छन्। यस्तै, अमेरिकी सिनेटर मार्को रुबियोले म्याक्रोँको घोषणालाई ‘कठोर’ भन्दै संयुक्त राज्य अमेरिकाले यसलाई अस्वीकार गर्ने बताएका छन्।

जी-सेभेन विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह हो, जसमा फ्रान्स, अमेरिका, बेलायत, इटाली, जर्मनी, क्यानडा र जापान सदस्य छन्।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्