नेपथ्यको युरोप सांगीतिक यात्रा, पाँच देशमा कन्सर्ट गर्ने

सहयात्रा टिभी

काठमाडौं । साउन ९, लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यले आगामी महिना युरोपका पाँच देशमा सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा कन्सर्टको शृङ्खला गर्ने तय भएको हो।

यो सांगीतिक यात्रा अगस्ट ९ मा लन्डनको वेम्बलीबाट सुरु हुनेछ। त्यसपछि अगस्ट २३ मा डेनमार्कको कोपेनहेगनस्थित ‘पुलेन हल’मा नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ। ब्यान्डले कोपेनहेगनमा दोस्रो पटक कन्सर्ट गर्न लागेको हो।

युरोप यात्राकै क्रममा अगस्ट २७ मा माल्टाको आटार्ड सहर, अगस्ट ३१ मा पोर्चुगलको राजधानी लिस्बन र सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरमा कन्सर्टहरू आयोजना हुनेछन्। एन्थ्रोपेनमा पनि नेपथ्यको यो दोस्रो प्रस्तुति हुनेछ।

ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले नेपथ्यको प्रस्तुतिले विश्वभरका श्रोताबाट समान माया पाइरहेको बताएका छन्। उनले युरोपका कार्यक्रमहरू पनि स्तरीय हलमा उत्कृष्ट प्राविधिक संयोजनका साथ प्रस्तुत गरिने र व्यवस्थापकीय उत्कृष्टतालाई कायम राखिने जानकारी दिए।

श्रेष्ठका अनुसार, यस युरोप यात्राका लागि कलाकार, प्राविधिक र व्यवस्थापकसहित १४ सदस्यीय टोली प्रस्थान गर्नेछ।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्