विद्या भण्डारीको कदमले उहाँकै कद घटायो : अध्यक्ष ओली

काठमाडौं । साउन ११, नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको हालको विवादलाई ‘सामान्य हावाको झोक्का’को संज्ञा दिँदै यसबाट विचलित नभई पार्टी निर्माणमा एकताबद्ध हुन नेताहरूलाई निर्देशन दिएका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले उनकै प्रतिष्ठा घटाएको टिप्पणी गरेका छन्।
शनिबार साँझ कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको सामूहिक भेटमा अध्यक्ष ओलीले पार्टीले विगतमा ठूला-ठूला आँधीबेहरी र तुफानको सामना गरेको स्मरण गराउँदै अहिलेको विवादले पार्टीलाई कुनै असर नगर्ने स्पष्ट पारे । “हामी संघर्षपूर्ण इतिहासमा ठूला-ठूला तुफानको सामना गरेर यहाँसम्म आइपुगेका हौँ। अहिले देखिएको यो त सानो हावाको झोक्का मात्र हो, यो सामान्य रूपमै समाधान हुन्छ,” उनले भने, “तपाईंहरू यसमा अल्मलिनुभन्दा आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा पार्टी निर्माणमा लाग्नुहोस्।”
भेटमा सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको भूमिकाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका थिए । “पार्टीले देशकै अभिभावकका रूपमा स्थापित गरेको सम्मानित व्यक्तिले एउटा सदस्यताको विषयमा गरेको बखेडाले सिंगो एमालेलाई दुःखित तुल्याएको छ। यसले स्वयं उहाँकै राजनीतिक कद घटाउने काम गरेको छ,” ओलीको भनाइ उद्धृत गर्दै बोगटीले जानकारी दिए ।
अध्यक्ष ओलीले भण्डारीको नजर पार्टी सदस्यता नवीकरण हुँदै पार्टी अध्यक्ष पदमा समेत रहेकाले केन्द्रीय कमिटीले हालको निर्णय लिनुपरेको प्रस्ट पारेका थिए ।
आफूले नेतृत्व सम्हालेदेखि नै पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न खोज्दा चौतर्फी घेराबन्दीमा परेको उनको जिकिर थियो। उनले पार्टी र सरकारका लोकप्रिय कामबाट अत्तालिएका शक्तिहरूले पार्टीभित्र अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाए। भेटको अन्त्यमा उनले पार्टीको अबको सम्पूर्ण ध्यान २०८४ को निर्वाचनमा बहुमतसहित पहिलो शक्ति बन्ने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।