नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । साउन १३, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताएका छन्ब । मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको बताउँदै नागपञ्चमी पर्वलाई माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा उल्लेख गरेका छन् ।

उनले प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बताएका छन् । प्रधानमन्त्री ओलीले पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएको र यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास रहेको उल्लेख गरेका छन् ।

उनले प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोग्न बाध्य भइरहेको जनाउँदै नागलाई पूजा गर्ने दिनले जीवहरूसँग मानिसको सहअस्तित्वलाई सम्झाउने बताएका छन् ।

उनले लेखेका छन्– आज नागपञ्चमीः पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ । प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ । आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ। हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन् । यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ । सबैलाई नागपञ्चमीको शुभकामना !’

प्रकाशित : 29 July, 2025

प्रतिक्रिया दिनुहोस्