‘पञ्चेश्वर परियोजना अघि बढाउन प्रधानमन्त्रीको भारत भ्रमणमा महत्त्वपूर्ण सम्झौताको तयारी हुँदैछ’

काठमाडौं । साउन १३, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले दुई दशकदेखि अलपत्र रहेको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुवै देशको साझा हितमा अघि बढाउन सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ गते हुन लागेको भारत भ्रमणका क्रममा पञ्चेश्वरमा नमिलेका विषयहरू टुंग्याएर महत्त्वपूर्ण सम्झौता गर्ने लक्ष्यका साथ मन्त्रालयले तयारी गरिरहेको उनले जानकारी दिए । प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।
उनका अनुसार नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष बितिसक्दा पनि परियोजना अघि नबढ्दा नेपालले हालसम्म करिब एक खर्ब रुपैयाँ बराबरको घाटा बेहोरिसकेको छ।
मन्त्री खड्काले पञ्चेश्वर जस्तै पश्चिम सेती लगायतका अन्य महत्त्वपूर्ण परियोजनाहरू पनि स्रोतसाधन, आर्थिक समस्या र कानुनी अड्चनका कारण लामो समयदेखि अघि बढ्न नसकेको बताए ।