युक्रेनसँग युद्धविराम गर्न रुसलाई ट्रम्पको १० दिने अल्टिमेटम

काठमाडौं । साउन १३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्धविराम गर्नका लागि १० देखि १२ दिनको नयाँ समयसीमा दिएका छन्। शान्ति प्रयासहरू खेर गइरहेको भन्दै उनले अब धेरै समय पर्खिन आवश्यक नरहेको बताएका हुन्।
स्कटल्याण्डमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले आगामी सोमबार वा मंगलबारसम्ममा रुसविरुद्ध नयाँ कर तथा प्रतिबन्धहरूको घोषणा गर्ने समेत बताए। दुई साताअघि मात्रै उनले रुसलाई ५० दिनभित्र युद्धविराम गर्न चेतावनी दिएका थिए।
यसअघि स्कटल्याण्डमा बेलायती प्रधानमन्त्रीसँगको संक्षिप्त भेटवार्तामा पनि ट्रम्पले युक्रेनमा रुसले आक्रमण जारी राखेकोमा गहिरो असन्तुष्टि व्यक्त गरेका थिए।
गत जुलाईमा ट्रम्प प्रशासनले रुससँग कारोबार गर्ने कुनै पनि देशका सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो, जसको उद्देश्य रुससँग व्यापार गर्ने देशहरूलाई आर्थिक रूपमा निरुत्साहित गर्नु थियो।