बागमती कांग्रेसमा नेतृत्वको लडाइँ : मुख्यमन्त्री बन्न बानियाँले २३ सांसदलाई रातभर होटलमा राखे

सहयात्रा टिभी

काठमाडौं । साउन १३, बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्यसहित नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ संसदीय दलको नेता बन्न निर्णायक कसरतमा जुटेका छन्। हालका संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो।

बानियाँले आफ्नो पक्षमा २३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्। सांसदहरू अर्को पक्षमा जान सक्ने आशंकामा बानियाँ समूहले आफ्ना समर्थक सांसदहरूलाई रातभर हेटौँडाको एक होटलमा सँगै राखेको छ। बानियाँ पक्षका एक पदाधिकारीका अनुसार, उनीहरू बिहान १० बजे संसदीय दलको कार्यालयमा एकसाथ जाने तयारीमा छन्।

यसअघि बानियाँले लामाविरुद्ध २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। तर, हस्ताक्षरकर्तामध्येकी मिना पराजुली र माया श्रेष्ठले आफूहरू लामाकै पक्षमा रहेको भन्दै विज्ञप्ति निकालेपछि विवाद बढेको थियो। यद्यपि, संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार ती दुई सांसदको विज्ञप्ति दलको कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको छैन।

यो राजनीतिक रस्साकस्सीमा दुवै पक्षले सांसदहरूलाई आफ्नो पक्षमा पार्न अधिकतम प्रयास गरिरहेका छन्। कांग्रेस स्रोतका अनुसार, सांसदहरूलाई मन्त्री पदको आश्वासन दिएर फकाउने प्रयास भइरहेको छ। अर्कोतर्फ, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट मानिने सिन्धुपाल्चोकका दुई सांसदले कसलाई समर्थन गर्ने भन्ने अझै प्रस्ट भइसकेको छैन, जसले गर्दा अन्तिम नतिजा अनिश्चित बनेको छ।

प्रकाशित : 29 July, 2025

प्रतिक्रिया दिनुहोस्