अभिभावकविहीन स्वस्तिकाले १४ वर्षपछि पाइन् नागरिकता र पहिचान

काठमाडौं । साउन १४, चौध वर्षदेखि अभिभावकविहीन अवस्थामा धुलिखेलको बालगृहमा आश्रित स्वस्तिका केसीले अन्ततः आफ्नो परिवार र नागरिकता दुवै पाएकी छन् । उनलाई सानैमा बेवारिसे छाडेर गएका बुबा विष्णुराज केसीले नै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट वंशजको आधारमा नागरिकता दिलाएका हुन् ।
सामाजिक अभियन्ता अर्जुन भुसालले स्वस्तिकाको कथा सामाजिक सञ्जालमा राखेपछि उनका आमा र बुबा सम्पर्कमा आएका थिए । सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठ र अभियन्ता भुसालको पहलमा परिवारसँग पुनर्मिलन सम्भव भएको हो ।
नागरिकता प्राप्तिको प्रक्रिया भने सहज थिएन । स्वस्तिकाका बुबा गाउँमा नबस्ने भएकाले वडा कार्यालयले सार्वजनिक मुचुल्का माग गरेको थियो । वडा अध्यक्ष निलबहादुर तामाङको सक्रियता र स्थानीयवासीको सहयोगमा मुचुल्का तयार भएपछि वडाले नागरिकताका लागि सिफारिस गरेको थियो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरे ।
लामो समयपछि आमाबुबा भेटेको र आफ्नो पहिचान पाएकोमा स्वस्तिकाले खुसी व्यक्त गरिन् । उनले भनिन्, “बुबालाई भेटेर किन छाड्नुभयो भनेर सोध्छु भन्ने लागेको थियो, तर उहाँले मलाई पहिचान दिनुभयो, यसैमा धेरै खुसी छु ।” उनकी आमा मञ्जु केसी दोस्रो विवाह गरेर चितवनमा बस्दै आएकी छिन् भने बुवा विष्णुले पनि अर्को विवाह गरेका छन् ।
धुलिखेलमा बेवारिसे भेटिएकी स्वस्तिकालाई सुरुमा राधा माकजुले एक वर्ष संरक्षण दिएकी थिइन् । उनी विदेश गएपछि शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा उनको आश्रय र शिक्षादीक्षाको व्यवस्था मिलाइएको थियो ।