बागमती कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री लामा र बानियाँबीच प्रतिस्पर्धा

काठमाडौं । साउन १४, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुर सिंह लामा र नेता इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया आज बिहान १० बजेबाट प्रारम्भ भएको छ ।
सुरुमा मुख्यमन्त्री लामाले आफ्नो तर्फबाट ललितपुरका सांसद रामकृष्ण चित्रकारलाई अघि सार्ने सङ्केत गरेका थिए । तर, आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयासपछि उनले अन्तिममा आफैँ चुनावी मैदानमा उत्रिने निर्णय लिएका हुन् ।
संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार, बिहान १० देखि ११ बजेसम्म नामावली प्रकाशन र ११:३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तालिका रहेको छ ।
मुख्यमन्त्री लामाले उम्मेदवारी दर्ता गर्नुअघि नै मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी गरेका छन् । सांसद रामकृष्ण चित्रकारले मुख्यमन्त्री लामाको जित सुनिश्चित देखिएकाले उहाँ आफैँ प्रतिस्पर्धामा उत्रिनुभएको जानकारी दिए । “मेरो उम्मेदवारीबारे छलफल भए पनि जित निश्चित भएकै कारण मुख्यमन्त्रीज्यू स्वयं प्रतिस्पर्धामा उत्रिनु भएको हो,” उनले भने ।
उनका अनुसार, आजै कम्तीमा तीन र सकेसम्म पाँचै जना मन्त्रीको टुङ्गो लगाएर शपथ गराइनेछ । प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले आजै निर्वाचन सम्पन्न गरी दलको नेता घोषणा गर्ने जनाएको छ ।