नाउपा अध्यक्षबाट रञ्जितालाई हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । साउन १४, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो ।
पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।