बागमतीमा शक्ति संघर्षकै बीच नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै

सहयात्रा टिभी

हेटौंडा । साउन १५,  बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चर्किरहेका बेला मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीन नयाँ मन्त्रीले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूका लागि शपथग्रहण समारोह आयोजना गरिएको छ ।

मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त तीनै जना कांग्रेसका प्रदेश सांसद हुन् । लम्साल यसअघि कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतक थिए ।

राजनीतिक टकरावको परिणाम

यो मन्त्रिपरिषद् विस्तार मुख्यमन्त्री लामा र नवनिर्वाचित संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीचको टकरावको परिणाम हो । हालै सम्पन्न कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा लामा बानियाँसँग पराजित भएका थिए । निर्वाचन जितेलगत्तै बानियाँले लामालाई नैतिकताका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

लामाले यसअघि बानियाँ पक्षका चार मन्त्रीलाई पदमुक्त गरेका थिए भने एक मन्त्रीले राजीनामा दिएका थिए, जसकारण पाँच मन्त्रालय मन्त्रीविहीन बनेका थिए । सोही रिक्त पदहरू पूर्ति गर्न लामाले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

पद नछाड्ने लामाको अडान

मुख्यमन्त्री लामाले भने संसदीय दलको नेता नहुँदैमा पद छाड्नु नपर्ने अडान राख्दै आएका छन् । उनी संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेकाले पदमा रहिरहन संसदीय दलको नेता हुनु अनिवार्य नभएको उनको तर्क छ । यता, बानियाँले भने लामाले राजीनामा नदिए ‘पद्धति र प्रक्रियाबाट’ हटाउने चेतावनी दिएका छन् ।

हाल बागमती प्रदेशमा १४ मन्त्रालय छन् । तीन जना नयाँ मन्त्री नियुक्त भए पनि संस्कृति, पर्यटन तथा सहकारी र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामाले आफैँसँग राखेका छन् । प्रदेश सरकारमा नेकपा एमालेले ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

प्रकाशित : 31 July, 2025

प्रतिक्रिया दिनुहोस्