बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

सहयात्रा टिभी

हेटौँडा । साउन १५, बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बिहीबारका लागि तय भएको शपथग्रहण कार्यक्रम रोकिएको हो ।

प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शपथग्रहण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले शपथग्रहण स्थगित गर्नुपरेको उल्लेख छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियाका कारण उनीहरूको शपथ बिहीबारका लागि सारिएको थियो ।

यो घटनाक्रम यस्तो समयमा भएको छ जब मुख्यमन्त्री लामा पार्टीभित्रै राजनीतिक दबाबमा छन् । उनी हालै सम्पन्न कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । निर्वाचन जितेसँगै बानियाँले मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

तर, मुख्यमन्त्री लामाले भने संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्री पद छाड्नु नपर्ने तर्क गर्दै आएका छन् । उनी संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्, जसका लागि संसदीय दलको नेता हुनु अनिवार्य नपर्ने उनको जिकिर छ ।

प्रकाशित : 31 July, 2025

प्रतिक्रिया दिनुहोस्