एमाले विधान महाधिवेशन व्यवस्थापनका लागि नेताहरूको जिम्मेवारी तोकियो

काठमाडौं । साउन १५, नेकपा (एमाले) ले आउँदो भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न नेताहरूको कार्यविभाजन गरेको हो।
बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम संख्या टुङ्ग्याउने जिम्मा सङ्गठन विभागलाई दिएको छ। १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कति जनाको निधन भयो र कतिले पार्टी छाडे भन्ने विवरण यकिन गरी विभागले अन्तिम नामावली तयार पार्नेछ।
महाधिवेशनको समग्र व्यवस्थापनका लागि विभिन्न नेताहरूलाई क्षेत्रगत जिम्मेवारी तोकिएको छ। प्रचार-प्रसारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई दिइएको छ भने स्वयंसेवक परिचालनको जिम्मेवारी जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पाएका छन्।
त्यसैगरी, मञ्च तथा यातायात व्यवस्थापन केन्द्रीय सदस्य विनोद श्रेष्ठले, स्वास्थ्य व्यवस्थापन कृष्णगोपाल श्रेष्ठले, र सांस्कृतिक कार्यक्रमको संयोजन हेमराज राईले गर्नेछन्। सचिवालय र भोजन व्यवस्थापनको जिम्मा कार्यालय सचिव डा. भीष्म अधिकारीलाई दिइएको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय भएको छ। यदि कसैलाई आवासको प्रबन्ध गर्न कठिनाइ भएमा सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले सहजीकरण गर्नेछन्, जसको समग्र संयोजनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ।
एमालेको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ, जसमा कुल २,२७९ जना प्रतिनिधि सहभागी हुनेछन्।