चलचित्र ‘रिमै’ आर्थिक विवादमा : पारिश्रमिक नतिरेपछि दयाहाङ प्रचारबाट पछि हटे

काठमाडौं । साउन १५, आगामी भदौ २० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रिमै’ रिलिजअघि नै आन्तरिक विवादमा फसेको छ। चलचित्रको आर्थिक व्यवस्थापनमा देखिएको समस्याका कारण मुख्य अभिनेता दयाहाङ राईले प्रचारप्रसारमा असहयोग गर्ने अडान लिएपछि विवाद सतहमा आएको हो।
राईले चलचित्रमा काम गरेका कलाकार तथा प्राविधिकहरूको सम्पूर्ण पारिश्रमिक चुक्ता नभएसम्म आफू प्रचारमा नहिँड्ने स्पष्ट पारेका छन्। उनले आफ्नो पारिश्रमिकभन्दा पनि अन्य प्राविधिकहरूको भुक्तानीलाई प्राथमिकता दिएका हुन्। चलचित्रका लेखक उपेन्द्र सुब्बाले पनि पोस्टर तथा टिजर सेयर नगरेर राईको अडानलाई समर्थन जनाएका छन्।
यता, निर्माता दूनबहादुर घलेले भने प्राविधिक र कलाकारहरूको रकम क्रमशः भुक्तानी गरिरहेको बताएका छन्। चलचित्र प्रदर्शनअघि सबैको बाँकी बक्यौता तिरिसक्ने प्रतिबद्धता जनाउँदै उनले संकटको समयमा मुख्य कलाकारबाट प्रचारमा सहयोग नपाउँदा दुःख लागेको गुनासो गरेका छन्।
सुटिङदेखि नै आर्थिक संकट
‘रिमै’को समस्या सुटिङ चरणदेखि नै सुरु भएको थियो। गोरखामा अन्तिम चरणको छायांकन गर्दा आर्थिक अभाव भएपछि अभिनेता राई र छायांकार शैलेन्द्र डी कार्कीले नै पैसा सापटी दिएर काम अघि बढाउनुपरेको थियो।
यसबाहेक, चलचित्र वितरक फेरबदलका कारण पनि थप जटिलता निम्तियो। सुरुमा एक वितरकसँग १ करोड ३५ लाख रुपैयाँको सम्झौता गरे पनि ‘रिमै’ टिमले उक्त सम्झौता तोड्दै अन्य वितरकसँग सहकार्य गर्न खोजेपछि विवाद बढेको थियो। हाल निर्माता संघको रोहबरमा पुरानो वितरकको रकम किस्ताबन्दीमा फिर्ता गर्ने सहमति भएको छ।
सुरुवातमा रोहित कट्टेलको वितरण कम्पनी आरआर फिल्म्सले ‘रिमै’ लाई एक करोड ३५ लाख रुपैयाँ अग्रीम दिएको थियो । तर, ‘रिमै’ को निर्माण टिम कट्टेललाई ‘धोका’ दिएर अर्का वितरक करण श्रेष्ठ क्रेजीसित जोडिन पुगे । अहिले क्रेजीलाई पनि छोडेर वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मस् कहाँ रिमै पुगेको छ । अब मानन्धरकै वितरण कम्पनीले चलचित्रको वितरण गर्नेछ ।
लिखित सम्झौतापछि मात्र फुटेज उपलब्ध
पारिश्रमिक नपाएपछि प्राविधिकहरूले चलचित्रको फुटेज रोकेका थिए, जसले गर्दा सम्पादनको काम प्रभावित भयो। पछि निर्माता संघमा भएको छलफलमा ‘चलचित्र सेन्सर पास हुनुअघि सम्पूर्ण कलाकार तथा प्राविधिकको भुक्तानी चुक्ता गर्ने’ लिखित सम्झौता भएपछि मात्र फुटेज उपलब्ध गराइएको थियो।
निर्माता घले चलचित्र सफल हुनेमा आशावादी छन्, तर दयाहाङ राई आफ्नो अडानमा कायमै छन्। उनले सम्पूर्ण भुक्तानी भएपछि मात्र प्रचारमा लाग्ने स्पष्ट पारेका छन्। करिब तीन करोड बजेट पुग्ने अनुमान गरिएको ‘रिमै’मा दयाहाङका साथै रिश्मा गुरुङ, अर्पण थापा र बुद्धि तामाङ लगायतको अभिनय छ। अब चलचित्रको सफल प्रदर्शन निर्माताले गरेको लिखित सम्झौताको कार्यान्वयनमा निर्भर देखिएको छ।