पक्राउ परेका चक्रे मिलनले दुई दिनदेखि मनाइरहेका थिए जन्मदिन

सहयात्रा टिभी

काठमाडौं । साउन १६, विगतमा गुण्डागर्दीका कारण चर्चामा रहेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’लाई प्रहरीले गएराति काठमाडौंको महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ गरेको छ। उनको जन्मदिन मनाउन भेला भएका र आपराधिक पृष्ठभूमि भएका भनिएका करिब ५० जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा पक्राउ परे पनि प्रहरीले उनको पछिल्लो समयको शक्ति प्रदर्शन र गतिविधिमाथि सूक्ष्म निगरानी राखिरहेको थियो ।

प्रहरी स्रोतका अनुसार, चक्रे मिलनको जन्मदिनको उत्सव दुई दिनदेखि चलिरहेको थियो। बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए, जहाँ उनले मन्दिर वरपर बसेकाहरूलाई पैसा बाँडेका थिए। त्यसपछि ठमेलमा केही चर्चित र्‍यापरहरूसँग समेत भेटघाट गरे, जहाँ उनले एकै ठाउँमा २० वटासम्म केक काटेको बताइएको छ।

दिउँसोको कार्यक्रमपछि उनको समूहले गाडीको लावालस्करसहित उनलाई महाराजगन्जसम्म ‘स्कर्टिङ’ गरेको थियो। यो सम्पूर्ण गतिविधिबारे जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सूचना पुगिसकेको थियो। यद्यपि, पछिल्लो समय कुनै आपराधिक क्रियाकलापमा संलग्नता नदेखिएकाले तत्काल कारबाही गर्ने वा नगर्ने भन्नेमा अधिकारीहरू अलमलमा थिए।

तर, मध्यरातिसम्म होटलमा उनको समूहले होहल्ला गरेपछि प्रहरीले कारबाहीका लागि आधार पाएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले माथिल्लो तहमा समन्वय गरी सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीसहितको टोलीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

पक्राउ परेकाहरूविरुद्ध कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अझै स्पष्ट भइसकेको छैन। यसअघि गत माघमा टिकटकमा हतियार देखाउँदै केक काटेको आरोपमा पक्राउ परेका ७ जनालाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए। त्यही नजिरका कारण प्रहरी यसपटक कानुनी प्रक्रियामाथि सचेत देखिएको छ।

२०६२/६३ को जनआन्दोलनपछि काठमाडौंमा चक्रे मिलन, दीपक मनाङे, राजु गोर्खाली जस्ता व्यक्तिहरू गुण्डा नाइकेका रूपमा उदाएका थिए। पछि यही समूहमा गणेश लामा र दावा लामा जस्ता व्यक्तिहरू पनि जोडिए।

समयसँगै यीमध्ये धेरैले राजनीतिमा प्रवेश गरेर आफ्नो छवि ‘शुद्धीकरण’ गर्ने प्रयास गरेका छन्। दीपक मनाङे प्रदेशसभा सदस्य हुँदै गण्डकीमा मन्त्रीसमेत बने। गणेश लामा नेपाली कांग्रेस र दावा लामा काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्ष छन्।

चक्रे मिलनमाथि नै २०६१ सालमा तरबार प्रहार गरेको अभियोगमा दीपक मनाङे हाल डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतले दिएको २ वर्षे सजायलाई उल्ट्याउँदै पुनरावेदन र सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय सुनाएपछि उनी पक्राउ परेका थिए।

पछिल्लो समय ठेक्कापट्टामा अनलाइन प्रणालीको सुरुवात र प्रहरीको आक्रामक कारबाही (जस्तै: दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटेको इन्काउन्टर) ले उपत्यकामा संगठित गुण्डागर्दीमा कमी आएको मानिन्छ। यद्यपि, प्रहरीले यस्ता पृष्ठभूमि भएका व्यक्तिहरूको गतिविधिमाथि निरन्तर निगरानी राख्दै आएको छ ।

प्रकाशित : 1 August, 2025

प्रतिक्रिया दिनुहोस्