बाधा पन्छाउँदै काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणमा तीव्रता, लेनडाँडा खण्ड बन्दै नमूना

सहयात्रा टिभी

काठमाडौं । साउन १७, राष्ट्रिय गौरवको आयोजना र रणनीतिक महत्त्वको धरोहर, काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले तीव्रता पाएको छ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको यो आयोजना, विभिन्न नीतिगत र भौगोलिक चुनौतीहरूलाई चिर्दै अब आफ्नो लक्ष्यतर्फ द्रुत गतिमा लम्किरहेको हो ।

यसअघि नीतिगत जटिलता, चुनौतीपूर्ण भूगोल र जग्गा अधिग्रहणजस्ता समस्याले सुस्त बनेको आयोजनाले अब भने लय समातेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, २०८२ असार मसान्तसम्म आयोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ, जसले निर्माण कार्यले नयाँ गति लिएको स्पष्ट पार्छ । आयोजनालाई २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको हो ।

आयोजना अन्तर्गतका १३ निर्माण प्याकेजमध्ये १२ वटामा तीव्र गतिमा काम भइरहेको छ । यद्यपि, प्याकेज नं. ११ अन्तर्गतको खोकना-डुकुछाप खण्डमा भने जग्गा अधिग्रहणको समस्या अझै सुल्झिसकेको छैन, जसका लागि समन्वय प्रयास जारी छ ।

लेनडाँडा खण्डमा देखियो प्रगतिको आकर्षक चित्र

द्रूतमार्ग निर्माणको सबैभन्दा आकर्षक र उदाहरणीय खण्डको रूपमा लेनडाँडा खण्डलाई विकास गरिँदैछ, जहाँ ६१ प्रतिशत काम सकिएको छ । यस खण्डमा रहेका दुईवटा सुरुङमार्ग ‘ब्रेक-थ्रु’ भइसकेका छन् भने ६ वटा पुल, जसमध्ये एउटा ८१ मिटर अग्लो छ, निर्माणको चरणमा छन् ।

विशेषतः, द्रुतमार्गकै पहिलो पुलको रूपमा ३३३ मिटर लामो पुल निर्माण सम्पन्न भई सवारीसमेत चल्न थालेको छ, जसले आयोजनाको सफलतालाई मूर्त रूप दिएको छ ।

आयोजनामा हालसम्म कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ । यसमा विभिन्न निकायलाई दिइएको पेश्की रकम समेत जोडिएकाले आयोजनाको वास्तविक (खुद) खर्च भने ७७ अर्ब ९७ करोड रहेको सेनाले स्पष्ट पारेको छ ।

प्रकाशित : 2 August, 2025

प्रतिक्रिया दिनुहोस्