देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने

काठमाडौं । साउन १९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ ।
महाशाखाका अनुसार अहिले देशभर पूर्णतया बदली रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।