साउनको तेस्रो सोमबार : पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन १९, आज साउन महिनाको तेस्रो सोमबार, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको अत्यधिक भीड देखिएको छ। भक्तजनको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको छ। पूजाआजा तथा दर्शनका लागि हजारौँको संख्यामा भक्तजनहरू लामबद्ध छन्।
हिन्दू धर्मशास्त्रअनुसार साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना तथा दिन मानिने भएकाले यस दिन शिवालयमा पूजाआजा र दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास छ। यही परम्पराअनुसार वैदिक कालदेखि नै साउने सोमबारमा शिवको विशेष पूजा गर्ने चलन रहिआएको छ।
साउने सोमबारको अर्को मुख्य आकर्षण बोलबम यात्रा हो। हजारौँ शिवभक्तहरू पहेँलो बस्त्रमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दै पवित्र जल चढाउन पशुपतिनाथ पुगेका छन्।
यसैगरी, काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर तथा वसन्तपुरस्थित ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेव मन्दिरमा पनि दर्शनार्थीको उत्तिकै भीड छ।