हमासको कब्जामा रहेका बन्दीको दर्दनाक भिडियो- खान नपाउँदा कुपोषित र कमजोर शरीर

काठमाडौं । साउन १९, प्यालेस्टाइनी सशस्त्र समूह हमासले दुई जना इजरायली बन्धकहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा उनीहरू अत्यन्तै कमजोर र कुपोषित देखिएका छन्। यो भिडियो सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समुदायले यसको कडा निन्दा गरेको छ भने बन्धकहरूलाई भोकै राखेको आरोप लागेको छ।
सार्वजनिक भिडियोमा रोम ब्राभाल्सी र इभ्तार डेभिडलाई देखाइएको छ, जो निकै दुब्लाएका छन् र खान नपाएर रोइरहेको देखिन्छ। यद्यपि, हमासको सैन्य शाखाले बन्धकलाई भोकै राखेको आरोप अस्वीकार गरेको छ। उनीहरूले गाजाका बासिन्दा र हमासका लडाकुले जे खान्छन्, त्यही खाना बन्धकहरूलाई पनि दिइएको दाबी गरेका छन्।
ब्राभाल्सी र डेभिडलाई ७ अक्टोबर २०२३ का दिन नोभा संगीत समारोहबाट बन्धक बनाइएको थियो। सो आक्रमणमा अपहरणमा परेकामध्ये उनीहरूसहित ४९ जना अझै पनि हमासको नियन्त्रणमा छन् भने २७ जनाको मृत्यु भइसकेको अनुमान छ।
भिडियो सार्वजनिक भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो दुःख व्यक्त गर्दै बन्धकहरूलाई छुटाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। उनले दुवै पीडित परिवारसँग सम्पर्क गरी सान्त्वना दिएका छन्।
यसैबीच, बेलायती विदेश सचिव डेभिड लेभीले यसलाई हमासको “प्रोपोगान्डा” भन्दै निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले पनि भिडियोले बन्धकहरूको जीवन गम्भीर खतरामा रहेको स्पष्ट पारेको बताएको छ। रेडक्रसले बन्धकहरूलाई तत्काल औषधि, उपचार, पर्याप्त खाद्यान्न र परिवारसँग सम्पर्क गर्न दिनुपर्नेमा जोड दिएको छ।