कुलिङ पिरियड छेडखानीबारे प्रतिवेदनलाई अन्तिम रुप दिँदै छानबिन समिति

काठमाडौं । साउन १९, संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बिहानैदेखि निरन्तर चलिरहेको छ। हिजो (साउन १८) राति १२ बजेसम्म बैठक बसेको समिति आज बिहान ७ बजेदेखि नै प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयासमा जुटेको हो।
समितिको म्याद हिजो नै सकिए पनि हिजोकै बैठकको निरन्तरता स्वरूप आज छलफल जारी राखिएको हो। समितिका सभापति जीवन परियारका अनुसार, आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेश गर्ने लक्ष्यसहित काम भइरहेको छ।
यसअघि हिजो समितिमा रहेका सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। एमाले संसदीय दलको कार्यालयमा भएको उक्त छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी थिए। छलफलमा समितिलाई थप समय आवश्यक पर्ने/नपर्ने विषयमा कुराकानी भएको थियो, तर समितिले आधिकारिक रूपमा समय माग नगरेको बर्तौलाले बताएका थिए।
उल्लेखनीय छ, संघीय निजामती विधेयकमा ‘२ वर्षे कुलिङ पिरियड’ राख्ने सहमति भए पनि प्रतिवेदनमा उक्त प्रावधानलाई ‘निष्क्रिय’ बनाउने भाषा समेत परेको भन्दै विवाद भएपछि गत असार २३ गते छानबिन समिति गठन गरिएको थियो।
सुरुमा २१ दिनको कार्यावधि पाएको समितिलाई पछि एक हप्ता समय थपिएको थियो, जुन हिजो नै समाप्त भएको हो। कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा गठित समितिमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।