कुलिङ पिरियड छानबिन प्रतिवेदन : समिति सभापति खतिवडा नैतिक रुपमा जिम्मेवार

काठमाडौं । साउन २०, संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन अध्ययन गरेपछि मात्रै आफ्नोबारे निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन्।
उक्त छानबिन समितिले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ निष्क्रिय बनाउने गरी भाषा प्रयोग गरिनुलाई गम्भीर त्रुटि ठहर गरेको छ। प्रतिवेदनले समितिका सभापतिको हैसियतमा हस्ताक्षर गर्ने राजनीतिक पदाधिकारीलाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार मानेको छ, जसले प्रत्यक्ष रूपमा खतिवडालाई संकेत गर्दछ।
यस विषयमा सभापति खतिवडाले आफूले छानबिन समितिको प्रतिवेदन हेर्न बाँकी रहेको र त्यसलाई अध्ययन गरेर पार्टी नेतृत्वसँग समेत सल्लाह गरी आवश्यक निर्णय लिने बताएका छन्। “म कुलिङ पिरियड राख्नुपर्छ भन्ने पक्षमा सुरुदेखि नै थिएँ र मेरो लाइन त्यही हो,” खतिवडाले भने, “प्रतिवेदनमा के छ, त्यो हेरेर र नेतृत्वसँग सल्लाह गरेर के गर्ने भन्ने निर्णय गर्छु।”
विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर भए पनि त्रुटि पहिचान गर्ने सन्दर्भमा अन्य निकायको पनि भूमिका हुने उनको तर्क छ। खतिवडाले भने, “यो हटाउने वा नहटाउने जिम्मा कानुन मन्त्रालय र सम्बन्धित मन्त्रालयको हो। सभापति म हुँला, तर यसलाई पारित गर्ने त सिङ्गो संसद हो। सबै माननीय सदस्यहरूले हेरेरै अगाडि बढेको विषय हो।”
छानबिन समितिले आफूलाई नैतिक रूपमा जिम्मेवार भनेको विषयमा खतिवडाले समिति गठन भएकै दिनदेखि आफूले नैतिकता प्रदर्शन गरिरहेको दाबी गरे। “छानबिन समिति बनेदेखि म राज्य व्यवस्था समितिमा गएको छैन, गाडी फिर्ता गरेको छु र बैठक पनि राखेको छैन,” उनले भने, “मैले त त्यही दिनदेखि नैतिकता प्रदर्शन गरिरहेको छु।” यद्यपि, समिति सभापतिको नाताले आफूले लिनुपर्ने जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए।