उत्तरकाशीमा बाढीपछि ठाउँ–ठाउँमा पहिरोले राजमार्गहरू अवरुद्ध, धरालीका २५ होटल बगे

सहयात्रा टिभी

काठमाडौं । साउन २१, भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ। खीरगंगा नदीमा आएको बाढीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक सय जना बेपत्ता भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, बाढीले गंगोत्री तीर्थयात्राको मार्गमा पर्ने धराली र सुखी टप क्षेत्रमा रहेका करिब २५ वटा होटल तथा गेस्टहाउस बगाएको छ। धराली बजारको ठूलो हिस्सा पनि बाढीले नष्ट पारेको छ।

मंगलबार दिउँसो करिब साढे एक बजे नदीमा अचानक बाढी आएको थियो। घटनास्थलबाट प्राप्त दृश्यहरूमा पहिले बाढीले बस्तीहरू बगाउँदै लगेको र पूर्ण विनाशको तस्वीर देखिएको छ।

प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र स्थानीय प्रहरीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिएको छ।

यसैबीच, बाढीले विभिन्न स्थानमा पहिरो जाँदा जनजीवन थप अस्तव्यस्त बनेको छ । बाढी र पहिरोले हर्षिल र धरालीका सडकहरूमा व्यापक क्षति पुर्‍याउँदा राजमार्गहरू अवरुद्ध भएका छन् ।

बाढीले धराली बजारको ठूलो हिस्सा बगाएको थियो । त्यसपछिका पहिरोहरूले गर्दा अवरुद्ध भएका राजमार्ग खुलाउने प्रयास खराब मौसमका कारण प्रभावित भएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै, मुख्यमन्त्री पुष्करसिंह धामीले प्रभावित क्षेत्रमा आपतकालीन सेवाबाहेक अन्य गतिविधि बन्द गर्न निर्देशन दिएका छन् । धराली र हर्षिलका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

मुख्यमन्त्री धामीले पीडितहरूलाई तत्काल खाना, आवास र औषधोपचारको व्यवस्था मिलाउन तथा विस्थापित र अलपत्र परेकाहरूसम्म राहत सामग्री छिटो पुर्‍याउन सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन् ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्