रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका यौन दुर्व्यवहारका फरार दोषी पक्राउ

काठमाडौं । साउन २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा आयोजित हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सुनसरी वराहक्षेत्रका ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको हो।
सुनसरी जिल्ला अदालतले गत असार ३२ गते कोइरालालाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहँदै आएका थिए। नेपाल कांग्रेसनिकट उनी राजनीतिक पहुँचको आधारमा लामो समयदेखि पक्राउ पर्नबाट जोगिँदै आएका थिए ।
रास्वपाले मंगलबार विराटनगरस्थित आफ्नो पार्टी कार्यालयमा सभापति लामिछानेको पक्षमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला हस्ताक्षर गर्न पुगेको सूचना पाएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमन तिम्सिनाले कोइरालालाई विराटनगरबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। यसअघि अमेरिकाको टेक्ससमा बस्दै आएका कोइराला नेपाल आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटनामा पक्राउ परे पनि पछि धरौटीमा छुटेका थिए। धरौटीमा छुटेकै अवस्थामा अदालतले उनलाई दोषी ठहर गरेको थियो।