दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने

काठमाडौं । साउन २१, दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।
यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वन अर्थात् झन्डै ७ दशमलव ४३ अमेरिकी डलर तोकिएको छ । यो अहिले रहेको १० हजार ३० वन अर्थात् ७ दशमलव २२ डलरभन्दा उच्च हो ।
सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत पारिश्रमिक दर वृद्धि गरिएको हो । चालिस घण्टे साप्ताहिक कार्यघण्टाका आधारमा न्यूनतम पारिश्रमिक मासिक रूपमा झन्डै एक हजार ५ सय ५२ अमेरिकी डलर हुनेछ ।