राप्रपा र रास्वपा संसद् आज पनि बैठकमा आफ्ना कुरा राखेर बाहिरिए

सहयात्रा टिभी

काठमाडौं । साउन २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।

आजको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे । लगत्तै उनीहरू बैठक छाडेर बाहिरिएका छन् ।

सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।

‘हामीलाई पटकपटक नैतिकता र नालायकीपनको प्रश्न सोध्ने गरिन्थ्यो । राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । यो नालायकीपनको जवाफ कसले दिने ?’

राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलिन हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुखलाई प्रश्न गरिन् । ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ?’, उनले प्रश्न गरिन् ।

 

 

 

 

 

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्