जीबी राईलाई कारबाहीको दायरामा ल्याउन विश्वप्रकाशको माग

सहयात्रा टिभी

काठमाडौं । साउन २१, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृहमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

‘गृहमन्त्री ज्युलाई सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु, सहकारी ठग कोही जेल गए तर कोही कैयौलाई अझै पनि  कारबाहीको दायरामा ल्याउनलाई ढिलाई किन भइरहेको छ ? जिबी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन ?’, उनले भने ।

सहकारी ठगी प्रकरण सार्वजनिक भएपछि सहकारी सञ्चालक राई फरार भएयता तीन जना गृहमन्त्री नियुक्त भएको भन्दै उनले राईलाई नेपाल झिकाउन नसक्नुलाई कूटनीतिक असफलता हो ? भन्दै प्रश्न गरेका छन् ।

शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्ताको पाँच लाखसम्मको रकम तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन आग्रह गरेका छन् ।

सरकारले अध्यादेश नै जारी गरेर सहकारी पीडितको पााँच लाखसम्मको रकम फिर्ता गर्ने निर्णय भएपनि किन ढिलाई भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्