कोशीमा लम्पीस्किनबाट ६३७ चौपाया मरे, २२ हजार बढीमा संक्रमण

काठमाडौं । साउन २२, कोशी प्रदेशमा पशुहरुलाई लाग्ने लम्पीस्किन रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा लम्पिस्किनका कारण ६ सय ३७ वटा पशु चौपाया मरेका छन् ।
अहिले सम्म २२ हजार १ सय २२ चौपाया यो रोगका कारण बिरामी भएका छन् । यो रोगका कारण कोशी प्रदेशमा १ अर्ब १ करोड रुपैयाँ बराबरको क्षति भएको निर्देशनालयले जनाएको छ।
लम्पीस्किन रोगको प्रकोप तराइका जिल्लामा बढी रहेको छ । तराईका झापा मोरङ सुनसरी र उदयपुर मध्ये सबै भन्दा बढी यसको प्रकोप झापामा फैलिएको छ । झापामा यो रोगका कारण ४१० वटा पशु चौपायाको मरेका छन् । झापामा मात्रै १४ हजार ६९२ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । झापा पछि यो रोगको प्रकोप मोरङ, इलाम र सुनसरीमा फैलिएको छ ।
पशुपन्छी निर्देशनालय विराटनगरका निर्देशक डा. सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा यो रोग लागेका पशुको मृत्युदर २.७ प्रतिशत रहेको छ । उनले यो रोग आंशिक रूपमा नियन्त्रणमा रहेको बताए । पशुमा यो रोग लागे दूध र मासु उत्पादन घटाउने गरेको छ । यस्तै पशुको प्रजननमा असर पार्ने र छालाको गुणस्तर बिगार्ने र अन्तिममा पशु चौपाया नै मर्ने अवस्था बन्छ ।
तीन वर्ष अघि पनि कोशी प्रदेशमा यो रोगको प्रकोप फैलिएको थियो । अघिल्लो वर्ष खोप कार्यक्रम सञ्चालन भएका कारण नियन्त्रणमा आए पनि यस वर्ष यो रोगको प्रकोप थप फैलिएको निर्देशनालयले जनाएको छ ।
तीन वर्ष अगाडि प्रकोपको रूपमा आएको लम्पिस्किनका विरुद्धमा नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा पुनः यस पटक किसानले क्षति व्यहोर्नु परेको छ । ‘दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग देखिएको छैन । सङ्क्रमण मुख्यतः खोप लगाउन छुटेका पशुहरूमा देखिएको हो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण रहेको बताए ।
उनले भने,‘लम्पीस्कीन अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा पर्न सकेको छैन । गत वर्ष पालिकाहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यो वर्ष त्यसो नहुँदा र नीतिगत कमजोरीले गर्दा प्रकोप फैलिएको हो ।’
प्रदेशमा रोग नियन्त्रणका लागि खोपको अभाव पनि रहेको उनले बताए । प्रदेशको पशु सङ्ख्याको आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशु सेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको छ । ‘