डा. बाबुरामले रास्वपा सभापति रविलाई भैरहवा पुगेर भेटे

सहयात्रा टिभी

काठमाडौं । साउन २२, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका छन् ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेटेका हुन् ।

भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताए । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गरे । ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो’ भट्टराईले भने ।

रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताए ।

लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए ।

‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’

‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’

जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताए । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।

 

प्रकाशित : 7 August, 2025

प्रतिक्रिया दिनुहोस्