ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं । साउन २२, कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।
सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिसईबीका कारण हतियार प्रहार गरेर हत्या गरेका थिए ।
रातको समयमा उनीहरूले मृतक मोक्तानको घरमा पुगेर हत्या गरी नालामा फालेका थिए । धामीलाई जन्मकैदको सजाय सुनाइएको थियो । यद्यपि उनी फरार थिए ।
फरार रहेका धामीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले पक्राउ पर्ने डरले नक्कली नागरिकता बनाएको खुलेको छ ।
प्रहरीका अनुसार, २०६८ साल जेठ २६ गते उनले जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाएका थिए । मामा नाता पर्ने ननुलाल धामीलाई वंशजको आधारमा उनले नागरिकता बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।