यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । साउन २३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको जनाएको छ । यस्तै, देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र बाँकी पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई लगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मनसुनको समय भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : 8 August, 2025

प्रतिक्रिया दिनुहोस्