भूमि सम्बन्धी विधेयकमाथि छलफल गरेर पारित गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । साउन २५, भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो ।

आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

गत बिहीबार समितिले साढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावारे छलफल सकाएको थियो ।

समितिमा भएको छलफल र सांसदहरूले राखेका संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वनत तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ ।

प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव छ ।

विधेयकका अधिकांश विषयमा सांसदहरूको संशोधनको मर्म अनुसार भाषा मिलाउने भनेर छाडिएको थियो । आज विधेयकको प्रतिवेदन तयार भएर प्रस्तुत हुनेछ । त्यसमाथि छलफल गरेर विधेयक पारित गर्ने  समितिको तयारी छ ।

यसअघि नै समिति घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिन समिति सहमत भएको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषयमा भाषा मिलाउने भनिएको थियो ।

प्रदेशको क्षेत्राधिकार, संविधानको साझा सूची लगायतका विषयमा समिति मौन रहेर विधेयक अगाडि बढाउन खोजिएको छ ।

प्रकाशित : 10 August, 2025

प्रतिक्रिया दिनुहोस्