सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु, १५ घाइते

सहयात्रा टिभी

काठमाडौं । साउन २६, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ गइरहेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किएर उक्त दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको अवस्था अनुसार इनरुवा अस्पताल तथा विराटनगरस्थित न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बसका चालक झापा, अर्जुनधारा नगरपालिका-१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रकाशित : 11 August, 2025

प्रतिक्रिया दिनुहोस्