एमाले मुख्य सचेतक बर्तौलाले रास्वपाको व्यवहारप्रति प्रश्न उठाए

काठमाडौं । साउन २७, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यवहारप्रति प्रश्न उठाएका छन् ।
एकातिर प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्ने अर्कोतिर संसदीय समितिको बैठकमा भाग लिने प्रवृतिका बीचमा मेल नखाएको बर्तौलाको टिप्पणी छ ।
‘यो संसद्को मूल बैठक उहाँहरू बहिष्कार गर्नुहुन्छ । तर, यही मूल सदनले दिएको विजनेश सम्पादन गर्ने संसदीय समितिहरू त्यहाँ उहाँहरू काम गरिरहनुभएको छ,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।
‘एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ । अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ । यो संसद्मा बहिष्कार गरेको के अर्थ ?,’ उनी प्रश्न गर्छन्, ‘के लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ ?’ यस्तो व्यवहार सुधार्न रास्वपालाई एमाले मुख्य सचेतक बर्तौलाको आग्रह छ ।
एमालेका मुख्य सचेतक बर्तौलाले संसद्को मूल बैठक बहिष्कार गरेर बाहिर निस्केर प्रतिक्रिया दिने गरेको र प्रतिक्रिया दिँदा गलत शब्दहरू प्रयोग गर्ने गरेको भनेर आपत्ति जनाए ।
‘यो संसद् बहिष्कार गर्नुभएको छ । तर, बाहिर गएर सामाजिक सञ्जालमा प्रवेश गरेर छताछुल्ल ढंगबाट, संगठित ढंगबाट प्रधनमन्त्रीका विरुद्धमा, मन्त्रीका विरुद्धमा, आफूलाई मन नपर्ने राजनीतिक दलका नेता र सांसदहरूका विरुद्धमा गालीगलौजका शब्दहरू प्रयोग गर्नुहुन्छ,’ उनले भने ।
ति शब्दहरू अशिष्ट रहेको उनको भनाइ छ । उनी आरोप लगाउँदा प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँछन् ।
‘हामीलाई हनुमानको आरोप लगाउने, कसैको छोरा वा छोरी भन्ने, दलाल भन्ने । असाध्यै असामाजिक शब्दहरू प्रयोग गरेर कसैको झड्केलो छोरो, कसैको झड्केलो छोरी, कसको के ! यो खालको बा को नाममा, आमाको नाममा, श्रीमतीको नाममा समेत, हजुरबाको नाममा समेत, स्वर्गीय भएका हजुरआमाको नाममा समेत गालीगलौजको शृङ्खला राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूबाट संगठित तरिकाबाट भइरहेको छ,’ बर्तौलाले भने ।
उनले गलत कार्यशैली सुधार्न रास्वपा सांसदहरूलाई उनको आग्रह छ । अन्यथा, भविष्यमा आफैंलाई भारी पर्नसक्ने उनको चेतावनी छ ।